बाँके । राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास गरिएको छ । कोहलपुर नगरपालिका–११ मा निर्माणाधीन अवस्थामा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान परिसरमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले क्रिकेट एकेडेमीको शिलान्यास गरेका हुन् ।
मन्त्री नियुक्त भएलगत्तै उनले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने घोषणा गरेका थिए । तीन दिने जिल्ला भ्रमणमा निस्किएका गहतराजले आफ्नो पहिलो निर्णय कार्यान्वयन गर्ने क्रममा क्रिकेट एकेडेमीको शिलान्यास गरेका हुन् ।
उनले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको प्राथमिकतामा रहेको बताए । एकेडेमी निर्माणका लागि फास्ट ट्रयाकमा डिपिआर तयार भइसकेको जानकारी दिँदै उनले आफ्नै कार्यकालमा पूर्वाधार निर्माणको प्रक्रिया शुरु गरिने प्रतिवद्धता पनि जनाए ।
अन्तर्राष्ट्रिय स्तरमा निर्माण गरिने एकेडेमीको लागत १ अर्ब २२ करोड अनुमान गरिएको छ ।