काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल आयल निगमले दुई हप्तामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएर अत्याचार गरेको आरोप लगाएका छन्।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको ज्ञापनपत्र बुझाउन पुगेका ६ विद्यार्थी संगठनका नेताहरूको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपाले आयल निगमले जनताको ढाड सेक्न गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर अत्याचार गरेको बताएका छन्।
पूर्व–प्रधानमन्त्रीसमेत रहेको नेता नेपालले सत्ता साझेदार दलहरूसँग छलफल गरेर त्यसका लागि उचित पहल गर्ने पनि जानकारी दिएका छन्। त्यसैगरी उनले जनताका लागि काम गर्न पनि विद्यार्थी नेतालाई निर्देशन दिएका हुन्। हालसम्म उद्योगमन्त्री नियुक्ति गर्न कोही पनि नभेटिएको भन्दै आफूलाई देऊ भन्दा पनि नदिएको उनले बताएका छन्।
२०७८ साल असार २७ गते सर्वोच्च अदालतको परमादेशबाट २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि प्रधानन्यायाधीशको कोटाबाट असोज २२ गते उद्योगमन्त्री गजेन्द्रबहादुर हमाललाई नियुक्त गरेका थिए। त्यस्तै प्रधानन्यायाधीशले कोटा खोजेको भनेर चर्को विरोध भएपछि त्यसको तीन दिनपछि हमालले राजीनामा दिएका थिए। त्यसपछि उद्योग मन्त्रालय प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्दै आएका छन्।