भरतपुर। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले किसानलाई बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने गरी काम भइरहेको बताएकी छन्।
बीसौँ राष्ट्रिय धान दिवसको अवसरमा चितवनको भरतपुरमा आयोजना गरिएको रोपाइँ महोत्सवमा मेयर दाहालले किसानलाई बाह्रै महिना पानीको सुविधा पुर्याउन काम गरिरहेको बताएकी हुन्।
उनले भनिन्, ‘भरतपुर महानगरपालिकामा सबै खालका खेतीको सम्भावना छ। धान, गहुँ, तोरी, तरकारी खेतीसहित सबै अन्नबालीको राम्रो उत्पादन भइरहेको छ, त्यसैले अब यहाँका किसानलाई बाह्रै महिना पानीको सुविधा पुर्याउन हामीले काम गरिरहेका छौँ।’
अहिले महानगरमा सिँचाइको पर्याप्त व्यवस्था गर्न नसक्दा किसान दुःखी भएको उल्लेख गर्दै उनले वैकल्पिक व्यवस्था गरेर भए पनि महानगरपालिकाले भूमिगत सिँचाइका साधन बोरिङ, स्यालो ट्युबबेल, ट्युबबेलका माध्यमबाट पानीको सुविधा पुर्याइरहेको बताइन् । ‘अहिले नारायणी लिफ्ट सिँचाइमा काम भइरहेको छ, त्यहाँ अत्याधुनिक उपकरण जडान भइरहेको छ’, उनले भनिन्, ‘निकट भविष्यमा हामीले त्यसलाई सञ्चालनमा ल्याउनेछौँ, किसानले आकाशको पानी कुरेर बस्नुपर्दैन ।’