काठमाडौं। नेपाल सरकारको रू. साढे २८ करोडको लागतमा धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा सुविधासम्पन्न सिटीहल निर्माण अन्तिम चरणमा पुगेको छ। डेढ बिघा क्षेत्रफलमा रहेको उक्त सिटीहल निर्माण सम्पन्न भई फिनिसिङ भइरहेको छ।
राष्ट्रिय सभागृहको मोडेलमा निर्माण गरिएको सिटीहलमा एउटा मुख्य अडिटोरियम, एउटा सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई रिहर्सल हल रहेका छन्। करीब ४०० गाडी अटाउने अण्डरग्राउण्ड बेसमेन्ट पार्किङ पनि तयार गरिएको संघीय योजना कार्यान्वयन एकाइ धनगढीले जानकारी दिएको छ। संघीय योजना कार्यान्वयन एकाइका इञ्जिनीयर पूजन न्यौपानेले फल्ससिलिङ लगाउने, रङरोगन गर्ने, बिजुली बत्ती जडान गर्ने, तातो–चिसोका लागि एसी तथा हिटर जडान गर्ने, खानेपानी जडान गर्नेलगायत काम भइरहेको जानकारी गराएका छन्। मुख्य अडिटोरियमको क्षमता ९०० भन्दा बढीको र सेमिनार हलको क्षमता २०० जनाको रहेको उनले जानकारी दिएका छन्।
कार्यालयका अनुसार सो सिटीहल निर्माणका लागि विकाइ एमके रोयल धनगढीसँग विसं २०७५ माघ २ गते ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीसँग गरिएको सम्झौताअनुसार आगामी पुस ९ गतेभित्रै काम सक्नेगरी काम भइरहेको उनको भनाइ छ। कोभिड–१९ का कारण काममा बाँधा उत्पन्न भए पनि सिटीहल निर्माण समयमै पूरा गर्ने प्रयास गरिरहेको र साउण्ड सिस्टम जडान गर्ने काम बाँकी रहेको उनले जनाएका छन्। सो सिटीहल निर्माणका लागि रू. १ करोडमा धनगढी नमूना प्राविधिक माविसँग जमीन खरीद गरिएको थियो। इञ्जिनियर न्यौपानेले हालसम्म रू. २२ करोड ६६ लाख खर्च भइसकेको जनाएका छन्। त्यसैगरी सिटीहल सञ्चालन गाइडलाइन बनाएर उपमहानगरपालिकाले नै सञ्चालन र व्यवस्थापन गर्ने गरी हस्तान्तरण गरिने जानकारी दिइएको छ।
धनगढी–८ का वडाध्यक्ष नारायणप्रसाद बरालले ठेक्कामार्फत सिटीहल सञ्चालन गरिने जनाएका छन्। कार्यपालिकाबाट निर्णय नभइसकेको भए पनि बोलपत्रमार्फत ठेक्का दिने विषयमा छलफल भइरहेकाले हस्तान्तरण भएर उपमहानगरपालिकामा आएपछि बोलपत्र आह्वान गरिने उनको भनाइ रहेको छ।