मोरङ। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले तीन वटै तहको सरकारबाट प्राप्त बजेटलाई एउटै योजनामा नलगाउन आग्रह गरेका छन्। मोरङको मधुमल्लामा मिक्लाजुङ गाउँपालिकाको १२ औँ गाउँ अधिवेशनको उद्घाटन गर्दै मन्त्री लिम्बुले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट प्राप्त हुने विकास बजेट एउटै योजनामा नलगाउन आग्रह गरेका हुन्।
सानासाना योजनामा बजेट नछर्न सुझाव दिँदै उनले उत्पादन गर्ने किसान केन्द्रित कार्यक्रम ल्याएकोमा पालिकालाई भने धन्यवाद दिए। मन्त्री लिम्बुले क्षेत्र विकास कोषको पुनः व्यवस्था भएको बताउँदै स्थानीय तह, प्रदेश र सङ्घबाट प्राप्त हुने बजेटलाई व्यवस्थित ढङ्गले परिचालन गर्न सके नागरिकका आवश्यकता पूरा गर्न सकिने बताए।
किसानलाई सहुलियतमा ऋण दिने र किसानलाई मल बिउ र प्रविधिको व्यवस्था गर्ने राम्रो कार्यक्रम ल्याएको बताउँदै मन्त्री लिम्बुले यस्ता कार्यक्रम कार्यान्वयनमा विशेष जोड दिन आग्रह गरे । विकास निर्माणका काममा दलीय वा व्यक्तिगत स्वार्थ नराखी साझा एजेन्डा बनाएर अघि बढ्नुपर्नेमा उनको जोड छ।