पाल्पा। रोटरी क्लब अफ पाल्पाले यूनाइटेड मिसन अस्पताल पाल्पामा वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गर्ने भएको छ । रोटरी क्लब अफ पाल्पा तानसेनले यूनाइटेड मिसन अस्पताल पाल्पा र भुसलडाँडा क्षेत्रका होटल, तथा रेष्टुरेन्टबाट निस्कने फोहोर पानीलाई पुनः प्रयोगमा आउने गरी व्यवस्थापन गर्न वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गर्न लागेको हो।
रोटरी क्लब अफ पाल्पा तानसेन र रोटरी क्लब अफ इन्टरनेश्नलको समन्वयमा ३ करोड १८ लाखको लगानीमा वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गर्न लागेको रोटरी क्लब अफ पाल्पा तानसेनले जनाएको छ। प्लान्ट निर्माण गर्नका लागि तानसेन नगरपालिकाले पनि एक लाख सहयोग दिने भएको छ।
वर्षामा बग्ने पानी, घर होटल रेष्टुरेन्टबाट बग्ने पानीले भुसलडाँडा तल्लो भेगका स्थानीय परेको समस्या प्लान्ट निर्माण पछि समाधान हुने छ। रोटरी क्लब अफ पाल्पा तानसेनले यूनाइटेड मिसन अस्पतालमा दश लाख लिटरको आकाशेपानी संकलन गर्ने ट्याङकी, हाड तथा जोर्नी विभागमा एकसय जनालाई अप्रेसन गर्न मिल्ने मेसिन, अक्सीजन प्लान्टको सहयोग गरीसकेको छ ।