गलेश्वर। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा अस्पताल निर्माण भएको छ। सो गाउँपालिकामा पाँच शय्याको अपाङ्गमैत्री अस्पताल निर्माण भएको हो।
सङ्घीय सरकारले सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्यअनुसार उक्त भवन निर्माण भएको छ।
दोवागाउँ नजिकै भूकम्पप्रतिरोधी भवन निर्माण गरिएको बताइएको छ। अपाङ्गमैत्री भवन सडक सञ्जाल नजिकै रहेकाले समेत सञ्चालनमा आएपछि बिरामीलाई सहज हुने विश्वास गरिएको छ। निर्माण भएको भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ कोठा रहेका छन्।
भवन निर्माणका लागि २०७८ वैशाखमा रविना–अमित जेभीसँग रु पाँच करोड १२ लाखमा ठेक्का सम्झौता भएको थियो ।