काठमाडौं। महोत्तरी जिल्लाको मटिहानीमा नवनिर्मित रङ्गशालाको आज राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिने उद्धघाटन कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले नगरपालिकाद्वारा निर्माण गरिएको रङ्गशालाको उद्धघाटन आज राष्ट्रपतिबाट १० बजे गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्। कार्यक्रमको तयारी पूरा भइसकेको उनले जनाएका हुन्।
जलेश्वरको परिकौलीमा रहेको नेपाली सेनाको रणभीम गणमा हेलिकप्टर ल्याण्ड गरिने र सोही ठाउँमा राष्ट्रपतिको स्वागत गरी सवारीबाट करिब ७ किलोमिटर दूरीमा रहेको मटिहानी लगिने कार्यक्रम रहेको जानकारी दिदै मटिहानीमा सर्वप्रथम मटिहानी मठमा पूजाअर्चना गरी त्यहाँबाट नेपालकै सबैभन्दा पुरानो विद्यालय राजकीय संस्कृत माविको अवलोकनपश्चात रङ्गशालाको उदघाटन गरिनेनगरप्रमुख मण्डलले बताएका छन्।
आर्थिक वर्ष २०७४/७५ मा शुरु गरिएको रङ्गशालाको निर्माणमा करिब १ करोड ५ लाख रुपियाँ खर्च गरिएको जानकारी दिदै उनले यसक्षेत्रमा यतिको ठूलो रङ्गशाला यसअघि नभएको जानकारी दिएका छन्। १ बिघा ९ कठ्ठा क्षेत्रफलमा फैलिएको सो रङ्गशालामा क्रिकेट, फुटबल, भलिबल, कबड्डी, जुडोकराँटे लगायतका खेल खेल्न सकिने बताइएको छ। त्यसैगरी रणभीम गण परिकौलीबाट मटिहानीसम्म पुग्ने बाटोलाई सरसफाइ गरिएको छ भने खाल्डो रहेको ठाउँहरुमा बालुवा गिट्टीले मिलाइ पानी छर्किएको छ।