काठमाडौं। झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस दासढुंगामा दुर्घटना भएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका –२९ दासढुंगामा बस दुर्घटनामा परेको हो।
दुर्घटनामा १९ जना घाइते भएका छन्। झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आज बिहान ५:२० बजे आफैं अनियन्त्रित भएर पल्टिँदा बसमा सवार १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ । बस चालक पनि घाइते भएर उपचाररत छन् । घाइतेहरुमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ ।
बस सडकबाट झण्डै १० मिटर तल खसेर रुखमा अड्किएको छ र त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।