कास्की। पोखरा महानगरकाको वडा नं १७ मा सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरिने भएको छ । महानगरप्रमुख धनराज आचार्यले वडा कार्यालय भवन निर्माणका लागि शिलान्यास गरेका हुन्।
उपत्यका नगर विकास समितिको ड्यामसाइडस्थित पाँच रोपनी जग्गामा महानगरको रु पाँच करोड ३२ लाख ५४ हजारको लागतमा नेचुरल फर्निसिङ एन्ड कन्स्ट्रक्सन प्रालिद्वारा सो भवन निर्माण गर्न सम्झौता गरिएको छ।
भवन शिलान्यास प्रमुख आचार्यले पोखराको समग्र विकासमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । उनले आगामी चार वर्षको अवधिमा महानगरको प्रमुख प्रशासकीय भवनका साथै सबै वडाका कार्यालयमा सुविधा सम्पन्न भवन निर्माण गरी जनतालाई सर्वसुलभ एवम् छिटोछरितो सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।
तोकिएको समयमा निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत र ढिलासुस्ती गर्नेलाई दण्डित गर्न पनि महानगर पछि नभर्ने भन्दै महानगर प्रमुख आचार्यले पोखराको विकासमा सबैले सत्यतथ्य र सकारात्मक सोचका साथ सहयोग गरिदिन आग्रह गरे।