काठमाडौं। हरिवन नगरपालिकाले वडा नम्बर ११ स्थित चापीनी नदी बगरमा औद्योगिक ग्राम बनाउने भएको छ। नगर क्षेत्रमा औद्योगिक क्षेत्र प्रवद्र्धन गर्न औद्योगिक ग्राम बनाउन लागिएको हो।
आइतबार उक्त ग्रामको शिलान्यास गर्दै नगर प्रमुख गणेश प्रसाईंले औद्योगिक ग्रामबाट स्थानीय रोजगारी सिर्जना तथा आन्तरिक आयस्रोत समेत बृद्धि हुने जानकारी दिए। ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’अन्तर्गत हरिवनमा सो औद्योगिक ग्राम बन्न लागेको हो। यसका लागि सङ्घीय सरकारले गत आर्थिक वर्षमा विनियोजित एक करोड बिनियोजन समेत गरेको थियो। सो रकमबाट जग्गा व्यवस्थापन, पर्खाल लगाउने र खोला नियन्त्रणको काम सकिएको इञ्जिनियर जकी अहमद सिद्दकीले बताए।
उनका अनुसार अब उक्त जमिनमा स्थानीय उत्पादनमुखी र स्थानीयलाई रोजगारी सिर्जना हुने खालका व्यापार व्यावसाय गर्न जमिनलाई नगरपालिकाले भाडामा लगाउने छ। लगभग आठ बिघा क्षेत्रफलमा स्थापना हुन लागेको औद्योगिक ग्राममा यस क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न सहज हुने बताइएको छ।
एउटै छानामुनि विभिन्न व्यवसाय तथा उद्योग सञ्चालन हुँदा स्थानीयलाई आफ्नो उत्पादन कहाँ बिक्री वितरण गर्ने र बजार नपाउने चिन्ता हट्नुको साथै किनमेल गर्न धेरैतिर धाउनुपर्ने बाध्यता हट्ने नगरपालिकाले विश्वास लिएको छ। नदीले कटान गरेको जमिनको सदुपयोग गर्दा कृषियोग्य तथा वनको जमिन सुरक्षित रहने मात्र नभई कलकारखाना स्थापनाले बेरोजगारीको समस्यासमेत हल जनाइएको छ। सो औद्योगिक ग्राम प्रदेश २ कै नमूना बन्ने विश्वास गरिएको छ।