पर्वत। मुस्ताङमा नेपाल प्रहरीका पक्की नयाँ भवन बनेपछि प्रहरीलाई काम गर्न सहज भएको छ।
घासाका साथै जिल्ला प्रहरी कार्यालय मुस्ताङमा निर्मित भवनमा कार्यालय भवन, प्रहरी आवासीय भवन र सीमा प्रहरी चौकी लोमान्थाङका भवनको गण्डकी प्रदेश प्रहरी प्रमुख दिवेश लोहनीले आइतबार उद्घाटन गरेका छन्।
भवन उद्घाटनको अवसरमा सम्बोधन गर्दै प्रहरी नायब महानिरीक्षक लोहनीले शिष्टता र नम्रताका साथ नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरीलाई निर्देशन दिए।
आम नागरिकका समस्या समाधानका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यावसायिकता प्रदर्शन गर्दै आमनागरिकका गुनासो एवं समस्यालाई सम्बोधन गर्ने गरी प्रस्तुत हुनुपर्ने प्रहरीको दायित्व भएको उनको भनाइ छ।
नागरिकको सुरक्षाका लागि चौकीमा बस्दै आएका प्रहरी जीर्ण अवस्थामा रहेका भवन तथा छाप्रामा बस्नुपर्दा सास्ती हुने गरेको थियो। जनताको सुरक्षाका लागि कार्यरत प्रहरी नै सुरक्षित अवस्थामा नरहने हो भने काम गर्न समस्या हुने उनले उल्लेख गरे।
मुस्ताङ प्रहरीका १६ वटा एकाइमध्ये दुईवटा एकाइमा कार्यसम्पादन सहज भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए। डिएसपी दानीले कठिन तथा हिमपातको समयमा प्रहरीलाई बसोवास गर्न असहज परिस्थिति बन्ने गरेकोमा अब भने त्यो समस्याको हल हुने बताए।
जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहतमा भएका १६ वटा प्रहरी एकाइमध्ये १४ वटा एकाइले भने अझै पनि जीर्ण भवनबाटै कार्यसम्पादन गर्दै आएका छन्।