काठमाडौं। सडक डिभिजन कार्यालयमा चन्द्रनिगाहपुरमा निर्माण व्यवसायीले लगाएको ताला खोलिएको छ। निर्माण व्यवसायीले तीन दिनअघि चन्द्रपुर–४ स्थित सडक डिभिजन कार्यालयमा लगाएको ताला बुधबार खोलिएको हो।
रौतहट र सर्लाहीमा विभिन्न पुल, सडक लगायतका निर्माणको काम गरेबापतको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायी संघ रौतहटको अगुवाइमा असार ३१ गते कार्यालयको मूलगेटमा तालाबन्दी गरिएको थियो। सडक डिभिजन कार्यालयले एक महिनाभित्र व्यवसायीहरूको रकम भुक्तानी दिने प्रतिबद्धतापछि ताला खोलिएको निर्माण व्यवसायी संघ रौतहटले जनाएको छ।
भुक्तानीका लागि पहिलेदेखि नै सडक डिभिजनलाई भन्दै आएको र असार मसान्तसम्म पनि भुक्तानी नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको व्यवसायीहरुको भनाइ छ। निर्माण व्यवसायी तथा फर्मले गरेका विभिन्न विकास निर्माणका कार्यबापत पेस गरिएको बिलको रकम भुक्तानी हुनुपर्ने मुख्य माग छ। यद्यपि एक महिनाभित्र सबै रकम भुक्तानी गर्ने सहमति भएको र नभए फेरि आन्दोलन गर्ने संघले जनाएको छ।
दुई दर्जन निर्माण व्यवसायीको २६ करोडभन्दा बढी रकम सडक कार्यालयले भुक्तानी गर्न बाँकी रहेको संघले जनाएको छ।