काठमाडौं। रुकुम पश्चिममा स्वास्थ्य संस्थाहरूको संख्या थपिँदै गएपछि स्थानीयको उपचारमा पहुँच बढेको छ। वडैपिच्छे स्वास्थ्य संस्था र पालिकास्तरमा अस्पताल बनेपछि स्थानीयले सहजै उपचार पाउन थालेका हुन्।
हाल एउटा वडामा कम्तीमा एक जना अहेव र एक जना अनमी रहेका छन्। स–सानो उपचारका लागि स्थानीयले वडा छाड्नुपर्ने बाध्यता हटेको छ। आधारभूत स्वास्थ्य इकाईमार्फत सर्वसाधारणले वडा तहमै आधारभूत तहको स्वास्थ्य सेवा पाएका छन्। त्यस्तै गाउँपालिका र नगरपालिकामा स्थानीयले चिकित्सकबाटै उपचार सेवा पाइरहेका छन्।
रुकुम जिल्लामा ६ स्थानीय तह रहेका छन्। स्थानीय तह कार्यान्वयनमा आएसँगै स्वास्थ्य संस्थाको संख्या पनि बढेको हो। ६ स्थानीय तहमा ६ वटा अस्पताल रहेका छन् । दुई अस्पताल पुराना हुन् भने ४ स्थानीय तहले आफैं डाक्टरसहितका अस्पताल सञ्चालनमा ल्याएका छन्। मुसीकोट नगरपालिकामा जिल्ला अस्पताल र चौरजहारीमा चौरजहारी अस्पताल पहिल्यै नै अवस्थित थिए। त्यसैगरी आठबीसकोट नगरपालिकाले ९ नम्बर वडाको राडीमा नगर अस्पताल सञ्चालन गरेको छ। चौरजहारीले १० नम्बर वडाको खोलागाउँ, सानीभेरीले ७ नम्बर वडाको छोटेबगर र त्रिवेणीले ३ नम्बर वडाको खारानेटामा अस्पताल सञ्चालन गरेका छन्।
६ वटै स्थानीय तहले हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेका छन्। कुनै वडामा त दुई वटासम्म स्वास्थ्य केन्द्र स्थापना गरिएको मुसीकोट नगरप्रमुखले बताए का छन्। हाल स–साना स्वास्थ्य समस्या वडामै निदान भइरहेको जनाइएको छ।
जिल्लाका चार स्थानीय तहले बनाएका अस्पतालले मात्रै करिब ६२ हजार बिरामीको उपचार गरेका छन्। चौरजहारी नगरपालिकाका स्वास्थ्य संयोजक डन्डप्रसाद शर्माले नगरपालिकाले स्थापना गरेको अस्पतालबाट सर्वसाधारणले नजिकै र धेरै सेवा पाइरहेको जानकारी गराए का छन्।आठबीसकोट नगरपालिका प्रमुखले स्थानीय तह भनेको संघीयता कार्यान्वयनको मुख्य आधार भएको बताएका छन्। त्यस्तै आधारभूत आवश्यकता पूर्तिमा स्थानीय सरकार केन्द्रित भएको उनको भनाइ रहेको छ।