काठमाडौं। जनयुद्धका बेला ध्वस्त भएको सिन्धुलीगढी प्रहरी चौकीको नयाँ भवन उद्घाटन गरिएको छ। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बिहीबार सिन्धुलीगढी प्रहरी चौकीको नयाँ भवनको उद्घाटन गरेका हुन्।
भवन उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सिन्धुलीगढी चौकीमाथि आक्रमण गरेर जनयुद्धको शंखघोष भई १० वर्षसम्म चलेकाले अहिलेको उपलब्धि हात लागेको दाबी गरे । अब त्यो घटना इतिहास बनिसकेको भन्दै उनले जनयुद्ध पार्टी वा व्यक्तिको रहरले नभए ऐतिहासिक आवश्यकता भएको बताए।
तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गते ‘जनयुद्ध’ को थालनी गर्दा आक्रमण गरी प्रहरी चौकी ध्वस्त भएको थियो।
ऐतिहासिक सिन्धुलीगढीमा रहेको प्रहरी चौकी २०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले कब्जा गरेपछि पछिल्लो समयमा खनियाखर्कमा स्थानान्तरण गरिएको थियो । तर चौकीको आफ्नो भौतिक संरचना थिएन ।
हाल बागमती प्रदेश सरकारको लागतमा गढी प्रहरी चौकी भवन निर्माण भएको हो । उक्त प्रहरी चौकी कब्जा गर्दा कानुनमन्त्री श्रेष्ठ एक कमान्डर थिए ।
चौकीको नयाँ भवन दुई करोड ४९ लाख १३ हजार ३४३ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।