काठमाडौं। काठमाडौँ उपत्यकामा सार्वजनिक ‘द्रुत बस’ सेवा सञ्चालन हुने भएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईं, मन्त्रालयका सचिव केशवकुमार शर्मा, यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, ट्राफिक प्रहरीका प्रहरी नायब महानिरीक्षक, यातायात व्यवसायी महासङ्घका पदाधिकारीसहित बिहीबार मन्त्रालयमा बसेको बैठकले ‘द्रुत बस’ सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।
असोज १ गतेदेखि पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म ‘द्रुत बस’ सेवा सञ्चालन गर्ने तयारी गरिरहेको मन्त्री ज्वालाले जानकारी दिए।
सुरुमा द्रुत बस सेवा अत्यधिक जामको समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने छ। द्रुत बस सेवाका लागि सुरुमा ४० सिटभन्दा माथिका करिब २५ वटा बस सञ्चालनमा ल्याउने तयारी मन्त्रालयले गरेको छ। द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन, बसको रङ फरक गरिने समेत बताइएको छ। मन्त्री ज्वालाले यसअघि द्रुत बस सेवाको सडक लेन बनाउन सडक विभागलाई र बसको आकार प्रकार, सफाइ र ‘रोड परमिट’ को व्यवस्था मिलाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिइसकेका छन्।