महोत्तरी । राष्ट्रपति विद्या भण्डारीले महोत्तरीको मटिहानीमा नवनिर्मित मटिहानी रंगशालाको उद्घाटन गरेकी छन् । सोमबार राष्ट्रपति भण्डारी मटिहानी पुगेर रंगशालाको उद्घाटन गरेकी हुन् ।
रंगशाला उद्घाटन सभालाई सम्बोधन गर्दै उनले नवनिर्मित रंगशालाले यस क्षेत्रकै खेलकुद विकासमा सहयोग पुर्याउने बताइन् । उनले यस क्षेत्रका युवा, किशोरकिशोरी र विद्यार्थीको खेलप्रति देखाएको आकर्षणलाई रंगशाला निर्माणले अझै उत्साह बढाउने बताइन् ।
राष्ट्रपति भण्डारीले मटिहानी जनक सभ्यताद्वारा प्रशिक्षित भूमि रहेको र प्राचीनकालदेखि नै तपोभूमिका रूपमा प्रसिद्ध रहेको जनाइन् ।
राष्ट्रपति भण्डारीले रंगशाला उद्घाटनपश्चात् लक्ष्मीनारायण मन्दिर दर्शन, राजकीय संस्कृत मावि भ्रमण अवलोकनपश्चात् जलेश्वरस्थित जलेश्वरनाथ महादेवको दर्शन समेत गरिन् ।