काठमाडौं। तनहुँको सदरमुकाम दमौलीमा नमूना भेटेरिनरी अस्पताल निर्माण गर्न लागिएको छ। अस्पताल निर्माण पश्चात् तनहुँलगायत तीन जिल्लाका किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन्।
तनहुँ, लमजुङ र गोरखा जिल्लाका व्यावसायिक रुपमा पशुपालन गर्ने किसानलाई यसबाट प्रत्यक्ष फाइदा पुग्ने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ। यसबाट पशु पन्छीको उपचारका लामो दूरी पार गरेर काठमाडौँ, पोखरा र चितवनजस्ता स्थान जानुपर्ने बाध्यतासमेत अन्त्य हुने भएको छ।
भेटेरिनरी क्षेत्रमा आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा हाल पशुविज्ञ केन्द्र भएकै स्थानमा अस्पताल निर्माणकार्य अघि बढाइएको हो। रु १० करोडको लागतमा निर्माण गर्न लागिएको नमूना अस्पताल जिल्लाकै नमूना हुने केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले बताउनुभयो।
नयाँ बन्ने भवन तीन तल्लाको हुनेछ। उक्त भवनमा तालिम तथा बैठक कक्ष र पुस्तकालयका अतिरिक्त कर्मचारी आवास कक्ष पनि बनाइने भएको छ। भौतिक संरचना पश्चात् आवश्यकपर्ने उपकरण र दक्षजनशक्तिको व्यवस्था गर्न प्रदेश सरकार समक्ष अनुरोध गरिने उक्त कार्यालयले जनाएको छ।
“नमूना अस्पताल निर्माण पश्चात् पशुपालन किसानले गुणस्तरीय सेवा पाउने भएका छन्।” उहाँले भन्नुभयो, “पशुको उपचारका लागि लामो दूरी धाउनुपर्ने समस्या अन्त्य पनि हुने विश्वास गरिएको छ।”