काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालयमा ज्ञापन–पत्र बुझाएको छ। महासंघले निर्माण कार्यको भुक्तानी तथा आयोजनाहरूको एकमुष्ठ म्यादलगायतका नौ बुँदे राख्दै सोमबार अल्टिमेटमसहितको ज्ञापन–पत्र बुझाएको हो।
महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले प्रधानमन्त्री कार्यालय, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, ऊर्जा जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालय, गृह र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ।
ज्ञापन–पत्र बुझ्दै खानेपानी मन्त्री महिन्द्र राय यादवले महासंघका माग पूरा गर्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाए। महासंघले सोमबार नै सार्वजनिक खरिद अनगुमन कार्यालयका सचिव दामोदर रेग्मीलाई पनि नौ बुँदे ज्ञापन–पत्र बुझाएको छ।
आन्दोलनको कार्यक्रम अनुसार साउन ९ गते सातै प्रदेशमा महासंघले मुख्यमन्त्री र ७७ जिल्ला संघहरुले जिल्ला प्रसाशन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।
महासंघले मूल्यवृद्धि सम्बोधन हुनेगरी मूल्य समायोजन गरिनुपर्ने, रुग्ण आयोजना एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, बीमाको प्रिमियममा भएको वृद्धि खारेज गरिनुपर्ने, उपभोक्ता समितिबाट हुने निर्माणको व्यवस्था खारेज गरिनुपर्ने लगायतका माग राखेर महासंघ आन्दोलनमा छ।