काठमाडौं। चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन प्रक्रिया अघि बढाइएको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिले चोभार सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापनका लागि कम्पनी छनोट गर्न सोमबार टेन्डर आह्वन गरेको हो।
समितिले आगामी पाँच वर्षको लागि उक्त सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन निजी कम्पनीमार्फत गराउने छ। यस टेन्डरमा आवेदन दिन इच्छुक कम्पनीहरुले ४५ दिनभित्र कागजात पेस गर्नुपर्नेछ। बोलपत्र बुझाउने अन्तिम मिति यही भदौ २२ गतेसम्म रहेको छ।
यस बोलपत्रमा भाग लिनको लागि आवश्यक योग्यता पोर्ट मेनेजमेन्ट/कन्टेनर फ्रेट स्टेशन मेनेजमेन्ट/फ्रेट टर्मिनल मेनेजमेन्ट/वेयरहाउस/ट्रान्सपोर्टेसन/क्लियरिङ एण्ड फरवार्डिङ/फ्रेट फरवार्डिङमा कम्तिमा ५ वर्षको अनुभव हुनु पर्ने समितिले जनाएको छ। साथै, विगत ३ वर्षको औसत वित्तीय कारोबार कम्तीमा ६० लाख बराबरको हुनु पर्ने प्रावधान राखिएको छ।