तस्बिर:गाेरखापत्रबाट
ओखलढुङ्गा। ओखलढुङ्गाको सदरमुकाम नजिकै जिविस खोरिया टोलमा पहिरो जाँदा ३ वटा घरमा क्षति पुगेको छ। जिल्लाको सिद्धिचरण नगरपालिका–१२ को जिविस खोरिया टोलमा मङ्गलबार बिहान गएको पहिरोले तीन घर र एउटा कुखुरा फार्ममा क्षति पुगेको हो।
पहिरोका कारण दुई जना घाइते समेत भएका छन्। सोमबारदेखि परेको अविरल वर्षाका कारण बस्तीभन्दा पाँच सय मिटर माथिबाट खसेको पहिरोले स्थानीय सोमबहादुर खत्रीको तीन तला आधाको पक्की घरमा क्षति पुगेको छ। पहिरोले घरको बीच तलाको पछाडि भाग भत्किँदा ५० लाख बराबरको क्षति भएको छ । सोही घरमा कोठा भाडामा बस्ने भारतको दार्जिलिङ घर भएका ३२ वर्षीय नितेश राईको खुट्टामा चोट लागेको छ।
त्यसैगरी पहिरोले स्थानीय पेशल खत्रीको तीन तले पक्की घरको पछाडिको भागमा क्षति पुग्दा ५० लाख बराबरको क्षति भएको छ । सोही घरमा भाडामा बस्ने जिल्लाको मोलुङ गाउँपालिका ५ निवासी २९ वर्षीय नवीना धमला घाइते भएका छन्।
सुनकोसी गाउँपालिकाका कोलबहादुर खत्रीले कुखुरा फार्म पहिरोले पुरिदा ७० वटा भन्दा बढी कुखुरा मरेर एक लाख पचास हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।