डडेलधुरा। यतिबेला निर्माण व्यवसायीहरु आन्दोलनमा छन्। आयोजनाहरुको भुक्तानी हुनुपर्ने, एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका माग राख्दै निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका हुन्।
नेपाल निर्माण व्यवसायी महासंघले सोमबार प्रधानमन्त्री कार्यालय लगायत विभिन्न विकासे मन्त्रालयहरुमा नौ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको थियो।
निर्माण व्यवसायीको जिल्ला संघ र प्रदेश संघहरुले पनि धमाधम सम्बन्धित सरकारी कार्यालयहरुमा ज्ञापन पत्र बुझाउन थालेका छन्। आज मंगलबार बिहान निर्माण व्यवसायी संघ डडेल्धुराले पनि जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा समक्ष ज्ञापन पत्र बुझाएको छ।
सबै आयोजनाहरुको एकमुष्ट म्याद थप हुनु पर्ने, बाँकी भुक्तानी लगायत अन्य माग सम्बन्धमा नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलनका कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको संघले जानकारी दिएको छ।
त्यसैगरी आज नै निर्माण व्यवसायी संघ काभ्रेले पनि निर्माण व्यवसायीका समस्या समाधान गर्नका लागि ध्यानाकर्षणसहित जिल्ला प्रशासन कार्यालय काभ्रेमा ज्ञापन पत्र बुझाएको छ।