चितवन। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमको लागि चितवनमा अत्याधुनिक तरिकाले मञ्च निर्माण गरिदैछ। उक्त मञ्च निर्माणमा मात्रै ५० लाख रुपिँया खर्च गरिने भएको छ।
मञ्च व्यवस्थापन तथा स्वयम्सेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले भने ‘हामीले यस पटक अहिलेसम्मकै आकर्षक मञ्च बनाउने तयारी गरेका छौं। बुटवलमा भएको आठौँ महाधिवेशन भन्दा धेरै आकर्शक तरिकाले मञ्च निर्माण गरिदैछ।
एक सय २० फिट लम्वाइ र ६० फिट चौडा भएको मञ्च निर्माण हुनेछ। जसमा चारवटा खण्ड रहनेछन्। मुख्य भागमा स्थायी कमिटी सदस्य, स्वदेशी तथा विदेशी पाहुनाहरु बस्नेछन्। त्यसपछि दायाँ र वायाँ भएको भागमा केन्द्रीय सदस्यहरु बस्नेछन्। मञ्चको अगाडि रहेको भागमा कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन्। कम्युनिष्ट पार्टी स्थापना भएको ७२ वर्ष भएकाले एकैपटक ७२ जना कलाकारहरुको आर्केस्ट्रा (धुन दिने उपकरण) बाट राष्ट्रिय गानको धुन बजाइनेछ।
चितवनतर्फ पर्ने नदीकिनारमा डेढ लाख कार्यकर्तामात्रै सहभागी हुन सक्ने श्रेष्ठले बताए। महाधिवेशन स्थल र बजारका मुख्य चोकहरु पुलचोक, लायन्सचोक लगायतका चोकमा गरी २० वटा डिस्प्ले बोर्ड राखिने उनले बताए। त्यसबाट सहभागीहरुले बजारबाट पनि लाइभ कार्यक्रम हेर्न सक्नेछ।
कार्यक्रमलाई थप आकर्षक बनाउनको लागि सेल्फीस्थल र स्थायी संरचना निर्माण गरिनेछ। नदी किनारमा गैंडाको मुर्ती निर्माण गरिने तयारी रहेको छ। त्यो मूर्ति पछिसम्म रहनेगरी निर्माण गर्न लागेको उनले बताए। महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि कार्यक्रम स्थलमा हुने फोहोर व्यवस्थापन स्वयं पार्टीले नै गर्ने उहाँले जानकारी दिनुभयो।