कास्की। गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीको भवन उद्घाटन गरिएको छ। ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले बुधबार भवनको उद्घाटन गरेकी हुन् ।
सूर्य कन्स्ट्रक्सन कम्पनीले भ्याटसहित ३ करोड ५० लाखमा निर्माण गर्नेगरी भवनको २०७८ असार २१ गते सम्झौता भएको थियो। ३ हजार २ सय ६ वर्गफिट जग्गामा बनेको यस भवनको २२ वटा कोठा रहेको डिभिजन कार्यालयले जनाएको छ। डिभिजन कार्यालयको ७ रोपनी ८ आना जग्गा रहेको छ।
पूर्वाधार विकास कार्यालय कास्कीले निर्माणको रेखदेख गरेको थियो । संघीय सिँचाइ मन्त्रालयअन्तर्गत तत्कालीन सिँचाइ विकास डिभिजन कार्यालय स्याङ्जाले कास्की र स्याङ्जा जिल्ला कार्य क्षेत्र हुने गरी सेवा प्रवाह गर्दै आएको थियो । आव २०७२/७३ मा कास्की जिल्ला हेर्ने गरी छुट्टै सिँचाइ कार्यालयको स्थापना भएको थियो ।
संघीयता कार्यान्वयनसँगै उक्त कार्यालय प्रदेश सरकार मातहतमा आएको थियो । तत्कालीन जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयसमेत एकीकृत भई तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत २०७५ भदौ २८ मा पोखरा–१३ माझाबाटनस्थित स्थापना गरिएको थियो । २०७८ जेठ ५ मा भौतिक मन्त्रालय टुक्रिएर ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयअन्तर्गत यो कार्यालय रह्यो । कार्यालयले सिँचाइ, नदी नियन्त्रण, बाढीपहिरो रोकथाम, ढलबाढी व्यवस्थापन, फेवाताल, बेगनास तालको सञ्चालन तथा मर्मत ऊर्जा विस्तारलगायत कार्यक्रम गर्दै आएको छ ।