काठमाडौं। कर्णाली प्रदेशमा पहिलो पटक सरुवा रोग अस्पताल सञ्चालनमा ल्याइएको छ। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार कालिकोटको मान्मामा उक्त निर्मित अस्पतालको उद्धघाटन गरेका हुन्।
१५ शय्याको सो सरुवा रोग अस्पताल कालिकोटका ५ वटा सरकारी कार्यालयका लागी निर्माण गरिएको एकीकृत भवनमा सञ्चालनमा ल्याइएको हो।
त्यस्तै सो अस्पतालमा वरिष्ट कन्सलटेन्ट जनरल फिजिसियनदेखि विशेषज्ञ चिकित्सक गरी ११ जना भन्दा बढी जनशक्ति आवश्यक पर्ने भएको छ। उक्त अस्पताल प्रदेश सरकारको रु. १ करोड लगानीमा निर्माण गरिएको हो। अस्पताल स्रोतका अनुसार तत्कालका लागि सो अस्पतालमा २१ जना जनशक्तिको दरबन्दी रहेको छ। वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन १ जना, मेडिकल अधिकृत एक जना, हाउस किपर सहायक १, फार्मेसी सहायक १ जना लगायत गरी २१ जनको दरबन्दी रहेको छ।
त्यसैगरी उद्धघाटन कार्यक्रममा बोल्दै कर्णालीका पूर्व मुख्यमन्त्री शाहीले रोग, भोग अशिक्षा र अज्ञानताको भुमीबाट जन्मिएका कर्णाली बासीहरुका लागि सरुवा रोग अस्पताल सञ्चालनमा आउनु गौरवको विषय भएको बताएका छन्। साथै सो अस्पतालले जुम्ला, मुगु, दैलेख बाजुरा सम्मका नागरिक लाभान्वित हुने विश्वास उनले व्यक्त गरेका छन्।