काठमाडौं। निर्माण सम्पन्न आयोजनाहरुको समेत सरकारले भुक्तानी नदिँदा आफूहरुले पनि मजदुरलाई ज्याला दिन नसकेको निर्माण व्यवसायीहरुले बताएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघले आइतबार बिहान सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलमा धर्ना दिँदै यस्तो बताएका हुन्।
धर्ना कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीलाई राज्यले गर्नुपर्ने भुक्तानी प्रतिवद्धता अनुसार हुन नसकेकाले आफूहरुले पनि भुक्तानी गर्नुपर्ने ठाउँमा गर्न नसकेको बताए।
सरकारबाट भुक्तानी नहुँदा नै देशभरका निर्माण व्यवसायीले मजदुरहरुको भुक्तानी दिन नसकेको उनले स्पष्ट पारे । राज्य व्यवसायीमैत्री भएर प्रस्तुत नभएका कारण महासंघ आन्दोलनमा उत्रन बाध्य भएको समेत उनले बताए।
व्यवसायीहरूको माग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने जानकारी पनि अध्यक्ष सिंहले दिए। साउन ५ मा राजधानीमा सम्पन्न निर्माण व्यवसायीहरूको राष्ट्रिय भेलाले दिएको म्याण्डेट अनुसार महासंघ आन्दोलनको मैदानमा रहेको अध्यक्ष सिंहले बताए ।
व्यवसायीले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर्न, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर्न, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्न, उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर्न माग गर्दै धर्ना दिएका हुन् ।