काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघ विभिन्न मागसहित यतिबेला निरन्तर आन्दोलनमा छ। महासंघले आन्दोलनको कार्यतालिका नै सार्वजनिक गरि आन्दोलनका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ।
महासंघले आज पनि यन्त्र उपकरण सहितको धर्ना दिइरहेको छ। महासंघले आज विहान ८ बजेदेखि ९ बजेसम्म प्रधानमन्त्री निवास र दिउँसो ३ बजेदेखि ४ बजेसम्म संघीय संसद् अघि निर्माण कार्यमा प्रयोग हुने यन्त्र उपकरणसहित प्रर्दशन गर्ने भएको हो।
राज्यले निर्माण उद्योगको महत्व बुझ्न नसकेका कारण आफूहरु आन्दोलनमा उत्रनु परेको निर्माण व्यवसायीहरुको भनाइ छ। निर्माण व्यवसायीका जायज मागलाई समेत राज्यले व्यवस्था गर्दा रहर नभएर बाध्यतात्मक स्थितिमा आफूहरु आन्दोलनमा होमिनु परेको बताउँछन्।
महासंघले सोमवार प्रधानमन्त्री निवास बालुवाटार र संघीय संसद भवन अगाडि शान्तिपूर्ण धर्ना दिएको थियो । बालुवाटारमा विहान ९ बजेदेखि १० तथा संघीय संसद भवन अगाडि दिउँसो ३ बजेदेखि ४ बजेसम्म धर्ना दिएको थियो।
बालुवाटारमा विहान धर्ना कार्यक्रमको शुरुवात गर्दै महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूका जायज मागप्रति राज्य अनुदार भएका कारण महासंघ आन्दोलनमा उत्रिएको स्पष्ट पारे । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका पूर्व अध्यक्ष सुकुन्तलाल हिराचनले राज्यले निर्माण उद्योगको महत्व बुझ्न नसकेको टिप्पणी गरे ।
महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीहरूको वास्तविक मर्मलाई राज्य, संचार माध्य कसैले बुझ्न नसकेको भन्दै अझ सशक्त आन्दोलन अपरिहार्य रहेको बताए। महासंघका सल्लाहकार एवं पूर्व वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले मुलुकको निर्माण उद्योग कठिन अवस्थामा रहेको बताए । महासंघका महासचिव रोशन दाहालले आन्दोलन व्यवसायीहरूको रहर नभई बाध्यता भएको बताए ।