मार्तडी। बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालित त्रिवेणी साना जलविद्युत् केन्द्रबाट विद्युत् आपूर्ति अनियमित हुन थालेपछि राष्ट्रिय प्रसारणको विद्युत् लाइन तत्काल विस्तार गर्न माग राख्दै जिल्लाका सञ्चारकर्मीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
सञ्चारकर्मीले प्रमुख जिल्ला अधिकारी मार्फत् नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएका हुन्। प्राधिकरणको लाइन विस्तारमा ढिलाइ भएको भन्दै सञ्चारकर्मीले सोमबार ज्ञापनपत्र बुझाएका हुन्। बिजुली नहुँदा सदरमुकाममै सास्ती भोग्नुपरेको पत्रकार वसन्त विश्वकर्माले जानकारी दिएका छन्। जिल्लामा सञ्चालित विभिन्न विद्युतीय तथा छापा माध्यममा कार्यरत पत्रकारलाई काम गर्न समस्या भएको उनले जनाए।
त्यसैगरी नेपाल सरकारको स्वामित्वमा रहेको बाजुरा साना जलविद्युत केन्द्र हाल त्रिवेणी सहकारी संस्था लिमिटेडले भाडामा सञ्चालन गरिरहेको छ। सहकारीको विद्युत् व्यवस्थापन तथा सञ्चालनले नागरिक थप आजित भएका छन्। विद्युत् सहकारीले सञ्चालन गरिरहेका बेला नागरिकले भने सरकारले देशभर उज्यालो अभियान सञ्चालन गरे पनि सदरमुकाम मार्तडीलाई बेवास्ता गरेको ज्ञापनपत्रमा उल्लेख गरेका छन्। दैनिक ८ घण्टा लोडसेडिङको मार खेपिरहेका सदरमुकामवासी भने अझै जिल्लाका ग्रामीण भेगमा सल्लोको टुकीको भरमा रहेका छन्।
नेपाल विद्युत् प्राधिकरणको वितरण शाखा कार्यालय बाजुरा मार्तडीमै स्थापना भएको ३ वर्ष भइसकेको छ। सबस्टेशनको ठेक्का भएको १ वर्षभन्दा बढी वित्दा कुनै काम हुनसकेको छैन। विद्युत् नियमित नहुँदा बाजुराका सञ्चारकर्मी प्रभावित हुनुका साथै रेडियो, पत्रपत्रिका, अनलाइनलगायत सञ्चालनमा समस्या भएको जनाइएको छ। जिल्लाका १३ सञ्चारमाध्यममा कार्यरत पत्रकारले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन्।