काठमाडौं। निर्माण व्यवसायीले निर्माण उपकरणसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि विरोध प्रदर्शन गरेका छन्। आन्दोलनरत निर्माण व्यवसायी महासंघले आज डोजर र अन्य निर्माण यन्त्रहरूसहित बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन्।
विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरूलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने बताए।
सरकारले स्रोत नभएका योजनाहरूको म्याद एक वर्ष थप गर्ने भने पनि भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता योजना खारेज गर्नुपर्ने बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण व्यवसायीहरुलाई काममा फर्काउनका लागि ठोस कार्ययोजना बनाई माग सम्बोधन गर्नुपर्ने बताए ।
सम्झौता गरेका माग कार्यान्वयन नभएसम्म र सम्पूर्ण ठेक्काको एकमुस्ट म्याद थप नभएसम्म आन्दोलन जारी रहने उनको चेतावनी छ।
मूल्य समायोजनलगायत ९ बुँदे मागसहित निर्माण व्यवसायी महासंघ आन्दोलनमा उत्रिरहेको छ। कार्यतालिका अनुसार नै महासंघले आज निर्माण उपकरणसहित धर्ना दिएको हो।