काठमाडौं। अप्पर लोहोरेखोला हाइड्रोपावर कम्पनीले आजबाट २२ गतेसम्म सर्वसाधारणलाई सेयर जारी गरेको छ।कम्पनीले १०० रुपैयाँको अंकित मूल्यमा सर्वसाधारणलाई १९ लाख ५३ हजार २७९ कित्ता आइपीओ बिक्री खुलाएको हो।
यसअघि स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आइपीओ बाँडफाँट भइसकेको छ। कम्पनीले ३९ हजार ७६५ कित्ता कर्मचारी र ९९ हजार ४१२ कित्ता म्युचुअल फण्डहरुलाई पनि छुट्याएको छ। कम्पनीको जारी पुँजी ५० करोड ९८ लाख रुपैयाँ छ। जसको ४९ प्रतिशत अर्थात् २४ लाख ९८ हजार ४० कित्ता आइपीओ निष्कासन गरेको हो।
न्यूनतम १० कित्तादेखि बढीमा २५ हजार कित्तासम्म आइपीओमा आवेदन दिन मिल्छ। कम्पनीले ४ मेगावाटको माथिल्लो लोहोरे साना खोला जलविद्युत आयोजना निर्माण गर्दैछ। अनुमानित प्रतिमेगावाट लागत २३ करोड ६८ लाख र कुल लागत ९४ करोड ७२ लाख रुपैयाँ पुग्ने बताइएको छ। कम्पनीका अनुसार आयोजनाको लगानी ८.२२ वर्षमा फिर्ता हुनेछ। र छुट अवधि १७.८४ वर्षमा फिर्ता गर्ने जनाएको छ।