काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले दोस्रो चरणको आन्दोलन आजदेखि सुरु गर्दैछ। महासंघले दोस्रो चरणको आन्दोलनमा आजदेखि साउन २६ शुक्रवारसम्मको कार्यक्रम सार्वजनिक गरेको छ ।
महासंघले आजदेखि सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टीसहित हरेक दिन विहान ९ बजेबाट महासंघदेखि संसद भवनसम्म सिठ्ठी जुलुस गरी संसद भवन अगाडि कोण सभा गर्ने र संसद् भवनदेखि माइतीघर मण्डला, बबरमहल हुँदै हनुमानस्थानमा सिठ्ठी जुलुशसहित धर्ना दिइने भएको छ।
महासंघले तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्र्तगत साउन २८ सोमबारदेखि अत्यावश्यक बाहेकका सबै निर्माण कार्यहरू अनिश्चितकालका लागि बन्द गर्ने भएको छ। त्यस्तै विकासे विभागहरूमा पालैपालो विहान १० बजेदेखि ११ बजेसम्म धर्ना तथा तालाबन्दी गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ ।
अत्याधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, रुग्ण आयोजनाहरु अन्यौलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, सरकारबाट भक्तानी नभएसम्मको लागि चेक बाउन्स र बैक ग्यारेण्टी जफत गर्ने लगायतका कार्वाही रोकिनुपर्ने माग पनि महासंघले अघि सारेको छ । बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनुपर्ने, नियोक्ताले श्रोतमा कट्टा गरेको अग्रीम आयकर र मु.अ.करको रकम समयमा राजस्व खातामा दाखिला गरिनुपर्ने, निर्माण उद्योगसँग सम्बन्धित ऐन, नियम संशोधन गरिनुपर्ने लगायतका माग पनि महासंघको छ ।