काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले ऋण खोजेर भएपनि व्यवसायीहरुको रकम भुक्तानी गर्नुपर्ने बताएका छन्। आइतवार महासंघ सचिवालयमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष सिंहले यस्तो बताएका हुन्।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सिंहले निर्माण उद्योग चलायमान भएमात्र समग्र अर्थतन्त्र चलायमान हुने बताए। बजेट अभावका कारण निर्माण व्यवसायीहरूलाई सरकारले तत्काल भुक्तानी दिन नसक्ने भनी अर्थमन्त्रीले हालै दिनु भएको अभिव्यक्तिले पनि महासंघको जारी आन्दोलनको औचित्य पुष्टि गरेको अध्यक्ष सिंहले बताए । ‘सरकारले ऋण खोजेर भए पनि व्यवसायीहरूको रकम भुक्तान गर्नुपर्ने महासंघको स्पष्ट धारणा रहेको छ’ अध्यक्ष सिंहले पत्रकार सम्मेलनमा भने। निर्माण व्यवसायीहरूले सम्पन्न गरिसकेको कामको भुक्तानी कुनै पनि बहानामा रोक्न नमिल्ने उनको भनाइ छ।
महासंघले आइतबार पत्रकार सम्मेलन गरी दोस्रो र तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।