काठमाडौं। कृषि ज्ञानकेन्द्र गोरखा कार्यालयको नाममा गोरखा नगरपालिका–७ मान्द्रे ढुङगामा रहेको करिब २२ रोपनी जमिनमा नमूना ग्रीन हाउस निर्माण गरिने भएको छ।
उक्त कार्यालयले केन्द्रको नाममा रहेको सम्पत्तिको खोजी गर्दै जाँदा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको जग्गा फेला परेपछि त्यसको संरक्षण र उपयोगका लागि नमूना ग्रिन हाउस, माछा पोखरी, च्याउ घर निर्माण गर्न लागेको कार्यालयका प्रमुखले जानकारी दिएका छन्।
कार्यालयको नाममा भएको उक्त जग्गामा दुई भवन रहेको भए पनि गएको करिब ३५ वर्षदेखि उक्त जमिन र घर उपयोगविहीन हुँदै आएको उनले जानकारी दिएका छन्। टिनको छाना भएका तीन/तीन कोठे दुवै भवन जीर्ण अवस्थामा रहेको हुनाले भवनको मर्मत सम्हार गर्न र कार्यालयको नाममा रहेको जमिनलाई तारजाली गरी संरक्षण गर्न बजेट समेत प्राप्त भएको उनले बताएका छन्।
त्यसैगरी गण्डकी प्रदेश सरकारबाट भवन संरक्षणलगायतका कामका लागि चालू आर्थिक वर्षमा रु ५० लाख रकम प्राप्त भएको छ। प्रदेश सरकारले कृषिज्ञान केन्द्रको स्रोत केन्द्र संरचनात्मक सुधार कार्यका लागि रु १० लाख विनियोजन गरेको छ भने सो नमूना ग्रीन हाउस निर्माणका लागि चालू आर्थिक वर्षमा रु ५ लाख विनियोजन गरेको प्रमुखले जानकारी दिएका हुन्। विनियोजित कार्यक्रमबाट उक्त जमिनमा तारजाली लगाउने, जीर्ण भवन मर्मत गर्ने, पानी पोखरी निर्माण गर्ने नमूना ग्रिन हाउस निर्माण गर्नेलगायतको योजना रहेको छ।
त्यस्तै प्लाष्टिकको घर निर्माण गरी तरकारीखेती, नर्सरी निर्माण गरी बेर्ना उत्पादन गर्नेलगायतका योजनासमेत कार्यालयको रहेको कार्यालयले जानकारी गराएको छ। पानी पोखरी निर्माण गरी लिफ्टिङ गरी पोखरीको पानीको व्यवस्था गरिने भएको छ। साथै ३०/४० गोलासहितको घार राखेर मौरीपालन गर्ने योजना रहेको जनाइएको छ। पहाडी खाद्यान्न आयोजनाले करिब २०४३ सालतिर कार्यालयको सो जमिनमा भवन निर्माण गरे पनि भवन प्रयोगमा नआउदा जीर्ण अवस्थामा पुगेको हो।