काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलन आज पनि जारी रहयो। महासंघको दोस्रो चरणको आन्दोलन अन्तर्गत सिठ्ठी जुलुश आज पनि महासंघको कार्यालय अनामनगरबाट नयाँ बानेश्वरस्थित संसद भवन अगाडी पुगेर कोणसभा गरी माइतीघर हुँदै पुन: महासंघको कार्यालय पुगेर समापन भएको छ।

देशभरका विभिन्न जिल्लाबाट जिल्ला संघहरुले समेत एक्यबद्धता जनाउँदै महासंघको आन्दोलनमा सहभागी भएका छन्। आन्दोलनरत निर्माण व्यवसायीहरुले हातमा कालो पट्टी, टाउकोमा सेप्टी हेलमेट लगाएर सिठ्ठी बजाउँदै नारा लगाएका छन्।

कोणसभामा महासंघका अध्यक्ष रवि सिंह लगायत विभिन्न जिल्ला संघका अध्यक्षहरुले सम्बोधन गरे। आफूहरुको माग पूरा नभएसम्म आन्दोलन निरन्तर जारी रहने निर्माण व्यवसायीहरुको भनाइ छ। दोस्रो चरणसम्म शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा समेत सरकारले सम्बोधन नगरे जुनसुकै हदसम्म पनि जान सक्ने निर्माण व्यवसायीहरुले चतावनी समेत दिए।

















