काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन आज पनि जारी छ। महासंघले गत सोमबारदेखि सुरु गरेको दोस्रो चरणको आन्दोलन अन्तर्गत सिठ्ठी जुलुश आजसम्म जारी रहने छ।
सिठ्ठी जुलुशमा देशभरका विभिन्न जिल्लाबाट निर्माण व्यवसायीको जिल्ला संघहरुले समेत एक्यवद्धता जनाउँदै सहभागी भइरहेका छन्। हातमा कालोपट्टी, टाउकाेमा सेफ्टी हेलमेट लगाएर सिठ्ठी फुक्दै नारा लगाउँदै निर्माण व्यवसायीहरुले दोस्रो चरणको आन्दोलन गरिरहेका छन्।
जुलुश अनामनगरस्थित महासंघको कार्यालयबाट बबरमहल हुँदै नयाँ बानेश्वस्थित संसद भवन अगाडी पुगेर कोणसभा गरी माइतीघर पुगेर पुन बबरमहल हुँदै महासंघको कार्यालय पुगेर समापन हुने गरेको छ। संसद भवन अगाडी हुने कोणसभामा महासंघका अध्यक्ष लगायत प्रत्येक दिन फरक फरक जिल्ला संघका प्रतिनिधि अर्थात अध्यक्षले सम्बोधन गरिरहेका छन्।
निर्माण व्यवसायीहरुले आयोजनाहरुको भुक्तानीको माग, म्याद थप लगायतका नौं बुँदे माग राख्दै निरन्तर आन्दोलन गरिरहेका छन्। आजसम्म जारी रहने दोस्रो चरणको आन्दोलनबाट पनि सरकारले कुनै प्रतिक्रिया नदिए तेस्रो चरणमा निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन्।