काठमाडौं । नेपालले नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय संस्था एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) को ४६ औं सम्मेलनको तयारी औपचारिक रुपमा शुरु गरिएको छ ।
यसैक्रममा शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको सचिवालयमा सम्पन्न प्रचार प्रसार उपससमितिको बैठकले सम्मेलनको तयारीका लागि प्रचार प्रसार तीव्र पार्ने निर्णय गरेको उपसमिति संयोजक शिवहरि घिमिरेले जानकारी दिए। बैठकले राष्ट्रिय दैनिक, टेलिभिजन, अनलाइनसहित सामाजिक सञ्जालहरू मार्फत सम्मेलनको प्रचार प्रसार गर्ने, पर्यटन बोर्डसँग सहकार्य गर्ने, उपयुक्त स्थानहरूमा डिजिटल डिस्प्ले बोर्ड राख्ने, सम्मेलनका लागि विशेष दूत (ब्रयाण्ड एम्बेसडर) तोक्ने राख्ने लगायतका निर्णयहरू गरेको पनि संयोजक घिमिरेले जानकारी दिए।
घिमिरे नेपाल निर्माण व्यवसायी महासंघका नीतिगत उपमहासचिव तथा प्रवक्ता समेत हुन् । इफाप्काको ४६ औं सम्मेलन आगामी मंसिर ५ देखि ९ सम्म काठमाडौंमा आयोजना हुँदैछ। हाल नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह इफाप्का अध्यक्षको भूमिकामा रहेका छन्। इफाप्कामा भारत, बंगलादेश, मंगोलिया, फिलपिन्स, मलेसिया, सिंगापुर लगायतका १८ देश आबद्ध छन् ।
गत वर्ष ४५ औं सम्मेलन माल्दिभ्समा भएको थियो।