काठमाडौं। नेकपा (एमाले) को १०औँ महाधिवेशनमा नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र गतिमा अगाडी बढेको छ। उद्घाटनस्थलका २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो।
चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहने एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले जानकारी दिए। मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा निर्माण गरिने छ। त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने छ। यी दुई स्थायी संरचना निर्माणका लागि लगभग पाँच लाख खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए।
महाधिवेशन उद्घाटनस्थललाई थप आकर्षक बनाउनका लागि अन्य २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्वीर राखिने छन्। मदन भण्डारी, भिआई लेनिनका तस्वीर पनि सेल्फी प्वाइन्टमा राख्ने व्यवस्था गरिएको श्रेष्ठले बताए। ट्रेड युनियन महासङ्घको नेतृत्वमा निर्माण हुन लागेको मजदुरले उचालेको पृथ्वीले संसार बनाउने मजदुरको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिने उनको भनाइ छ।
यसैगरी एमालेको १०औँ महाधिवेशनको लोगो गैँडाले एमालेको झण्डा उठाएको प्रतिमा निर्माणका लागि रु एक लाख खर्च हुनेछ। नदी किनारमा स्थायीरूपमा राखिने यस्ता संरचनाले नदीको तटबन्ध गर्नका लागि राज्यको ध्यान पुग्ने श्रेष्ठले बताए। मञ्च निर्माणको काम ५० प्रतिशत सम्पन्न भइसकेको छ।
एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। महाअधिवेशन उद्घाटनसत्रमा पाँच लाखको सहभागिता रहने नेकपा (एमाले)ले जनाएको छ।