काठमाडौं। सिरहाको वडा नम्बर ९ मा रहेको नैनपुर अस्पतालका लागि १५ शय्याको नयाँ भवन निर्माण गरिने भएको छ। अढाई तले भौतिक संरचना निर्माणका लागि नगरपालिकाले निर्माण कम्पनीसँग मंगलबार अन्तिम सम्झौता गरेको हो।
उक्त नगरपालिकाले काठमाडौंको सिनर्जी सुवेदी कुलेश्वरलाई १४ करोड १७ लाख रुपैयाँमा २ वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का दिएको छ। ठेकेदार कम्पनीले पनि समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। नगरप्रमुख हरिनारायण चौधरी, प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले, इन्जिनियर शम्भु यादवलगायतको उपस्थितिमा सम्झौतापत्र आदान–प्रदान गरिएको थियो।