काठमाडौं। ठमेलमा सपिङ सेन्टरसहितको बुटिक होटल सञ्चालनका लागि भवन निर्माण भइरहेको छ । उद्यमी तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले होटल खोल्नका लागि भवन निर्माण गरेका हुन् ।
दस आना जग्गामा फैलिएको यो होटलको नाम ठमेल ट्रेड सेन्टर एन्ड बुटिक होटल राखिएको छ। दुई वर्षदेखि निर्माणाधीन होटल अब करिब छ महिनामा पूरा हुने मल्लले जानकारी दिए । कोरोना भाइरसका कारण रोकिएको निर्माण कार्य हाल परिस्थिति सहज भएसँगै तीव्र गतिमा अघि बढिरहेको छ ।
होटल बेसमेन्टसहित नौ तलाको हुनेछ। बेसमेन्टदेखि पहिलो तलासम्म सपिङ मल र बाँकी छ तलामा होटल रहने गरी डिजाइन गरिएको छ।
सपिङ मलका लागि १८ र होटलका लागि ४२ वटा कोठा छन्। माथि टपमा भने रेस्टुरेन्ट र बार राखिने बताइएको छ ।
राति ठमेल घुम्ने ग्राहकले बाहिरबाटै मलमा राखिएका सामान देख्न सकून् भन्ने उद्देश्यले पारदर्शी सिसा प्रयोग गरिएको मल्लले बताए।