काठमाडौं। कर्णाली प्रदेशमा एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत पुराना योजना सम्पन्न गर्न बजेट थप गरिएको छ। चालु आर्थिक वर्षमा एकीकृत बस्ती विकास गर्नको लागि २४ करोड १० लाख बजेट व्यवस्था गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले जानकारी गराएको छ। सो योजना विकासको लागि गत वर्ष २५ करोड बजेट विनियोजन गरिएको थियो। आवास निर्माणका लागि कर्णालीका ४ वटा जिल्लामा छनोट गरिएको ८ वटा आयोजनाबाट ४४७ वटा आवास निर्माण हुँदैछन्।
कर्णाली प्रदेशमा छरिएर वा प्राकृतिक विपतको जोखिमा रहेका बस्तीलाई स्थानान्तरण गरी एकीकृत बस्ती विकासको रुपमा विकास गर्न सुरु गरिएको प्रदेश सरकारको भनाइ रहेको छ। सो बस्ती विकास कार्यक्रम सञ्चालनको लागि प्रदेश सरकारले कार्यविधि तयार पारेर अघि बढाएको छ। कालिकोटको नरहरीनाथ–४, डाँडा सुन्दरखोलामा ४ करोड लगानीमा ८० वटा आवास निर्माण गरिदैँ छ। रास्कोट नगरपालिका–७ मा नमुना बस्ती निर्माण अन्तर्गत १ सय आवास निर्माणको लागि ५ सय करोड बजेट पठाइएको छ।
यसैगरी जाजरकोटको जुनीचाँदे गाउँपालिका ७ मा ४० आवास निर्माण गरिदैँ छ। जसको लागि थप २ करोड बजेट पठाइएको छ। त्यस्तै बारेकोट गाउँपालिका–७ मा ६० आवास निर्माण् गरिदैँ छ। यसका लागि पनि थप ३ करोड बजेट पठाइएको छ। त्यसैगरी मुगुको खत्याड गाउँपालिकाको वडा नं २ र ८ मा आयोजना सम्पन्न गर्न ३ करोड १० लाख बजेट पठाइएको छ। उक्त २ वडामा जम्मा ३३ वटा आवास निर्माण गरिदैं छ। हुम्लाको चाङखोला गाउँपालिका ६ मा ३३ वटा आवास निर्माणको लागि २ करोड थप बजेट पठाइएको छ। त्यस्तै ताराकोट गाउँपालिका १, २, ३, ४ र ५ मा आयोजना सम्पन्न गर्न ५ करोड बजेट थप गरिएको छ। यी वडाहरुमा ८३ वटा आवास निर्माण गर्न लागिएको छ।
एकीकृत बस्ती विकास निर्माणका लागि यसबाट लाभग्राही हुनेले लागतको कम्तीम पनि ५ प्रतिशत नगद वा सामाग्री योगदान गर्नुपर्ने योजना रहेको छ। त्यस्तै बस्तीमा सडक, खानेपानी, ढल खुला क्षेत्र, सञ्चार आदि निर्माण गरिने भएको छ। क्रमागत योजनालाई सम्पन्न गर्न थप बजेट स्थानीय तहमा पठाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले जनाएको छ भने अघिल्ले वर्षको योजनालाई सम्पन्न गर्न बजेट बिनियोजन गरेको कार्यलयका प्रवक्ता केशव प्रसाद उपाध्ययको भनाइ रहेको छ।