काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक विकासका लागि निजी क्षेत्रको सहभागिता अनिवार्य भएको बताएका छन्। राष्ट्रपति पौडेलले बिहिबार शीतल निवासमा नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँगको छलफलमा नीजि क्षेत्रको उत्साहजनक सहभागिताबाट मात्र देशको आर्थिक विकास सम्भव हुने बताएका हुन्।
उनले अर्थतन्त्र सुधार सबैको जिम्मेवारी भएको बताए। उनले देशको अर्थव्यवस्थामा ८० प्रतिशतभन्दा बढी हिस्सा रहेकाले सरकारले निजी क्षेत्रलाई उपेक्षा गर्न नसक्ने बताए।
राष्ट्रपति पौडेलले रोजगारी सृजना हुन नसकेको, रेमिट्यान्समा निर्भरता बढ्दै गएको र निर्यात घट्दै गएको अवस्थामा सार्वजनिक निजी साझेदारीको आवश्यकतामा जोड दिए। उनले कृषि उत्पादन बढाउनुपर्नेमा पनि व्यवसायीको ध्यानाकर्षण गराए। युवा जनशक्तिको बढ्दो विदेश पलायनलाई रोकेर कृषिलाई आधुनिकीकरण गरी उत्पादन बढाउनेतर्फ ध्यान केन्द्रीत गर्नुपर्ने समेत उनको भनाइ छ।