रोल्पा। थवाङ गाउँपालीका स्थित विवाङमा सोलार मिनिग्रिड स्थापना गरिएपछि गाँउ झिलिमिली बनेको छ। स्थानीयबासीका अनुसार पहिले बेलाबेलामा बत्ति जाने जस्ता धेरै समस्या भोग्दै आउनु परेको भएता पनि गाउँमा सोलार मिनिग्रिडको संचालन भएपछि धेरै सहज भएको छ। उक्त मिनिग्रिडको निर्माण भएपछि साना तथा मझौला उधोग संचालन गर्न सहज हुने स्थानीयले बताए।
गाउँपालीकाका अध्यक्षका अनुसार १५० किलोवाट क्षमता भएको नेपालको सबै भन्दा ठुलो सोलार मिनिग्रिड स्थापना भएसँगै जनजीबन प्रभावकारी बन्दै गएको छ। गत वर्ष १३.५ किलोवाटको मङ्गारखोला माइक्रो हाईड्रोपावरबाट विधुत् उत्पादन गरिएको थियो। हाल सौर्य ऊर्जाबाट उत्पादन गरिएको बिधुतबाट उधोग पनि संचालन गर्न सकिने स्थानीयले बताए। वर्षातको समयमा माइक्रो हाइड्रोपावर हुँदा पहिरो गएर विधुत् अवरुद्ध हुने जस्ता विभिन्न समस्याले गर्दा स्थानीयले धेरै दुख पाएका थिए।
अहिले २४ सै घण्टा बत्ति आइरहने भएकोले गर्दा दैनिक कामहरुमा सहज भएको स्थानीयले बताए। केन्द्रीय प्रसारण लाइन नपुगेका र पुग्न लामो समय लाग्ने दुर्गम स्थानमा घामबाट संचालन हुने मिनिग्रिड प्रभावकारी हुनेछ।
आठ करोड भन्दा माथि वैकल्पिक ऊर्जा प्रबन्द्धक केन्द्रको र ८१ लाख भन्दा माथी गाउँपालीकाको लागतमा आयोजना सम्पन्न गरिएको थवाङ सोलार मिनिग्रिड संचालक समितिले जानकारी दिए। सो सोलार मिनिग्रिडबाट गाउँपालीकाका लगभग ३९२ घरहरु लाभान्वित भएका छन्।