काठमाडौं। जुम्लाको चन्दननाथ नगरपालिकाले सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गरी सञ्चालनमा ल्याएको छ। चन्दननाथ–५ स्थित कालेखोलीमा सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गरी सञ्चालनमा ल्याएको नगरपालिका प्रमुख कान्तिका सेजुवालले जानकारी दिएकी छन्।
चन्दननाथ नगरपालिका र गैरसरकारी संस्था एसएनभी नेपालको आर्थिक सहयोग र सूर्य सामाजिक सेवा सङ्घ जुम्लाद्वारा निर्मित सार्वजनिक शौचालय सञ्चालनमा आएपछि स्थानीयवासीदेखि बजार क्षेत्रमा आएका सर्वसाधारणले सेवा लिने नगरपालिका प्रमुख सेजुवालले बताएकी छन्। निर्मित शौचालयको दिगो व्यवस्थापन गर्नु महत्वपूर्ण भएकाले सो क्षेत्रका स्थानीयवासीले यसलाई सुरक्षितरुपमा लामो सयसम्म सञ्चालन गर्न आवश्यक रहेको नगरपालिकाले जानकारी गराएको छ।
नगरपालिका–५ मा मात्र नभई अन्य वडाहरुमा पनि यस्तै सुरक्षित शौचालय निर्माणमा एसएनभी नेपालले सहयोग गर्ने आशा राखेको नगरपालिका उपप्रमुख अप्सरादेवी महतले बताएकी छन्। त्यसैगरी शौचालयका लागि पानी र बत्तीको व्यवस्थापनको लागि नगरपालिकाबाट पहल गरिने उनले जनाएकी छिन्। महिलाको समस्यालाई दृष्टिगत गरी कर्णालीकै नमूना, आधुनिक र व्यवस्थित सार्वजनिक शौचालय निर्माण भएको वडाध्यक्षले बताएका छन्। ८५ लाखको लागतमा सार्वजनिक शौचालय निर्माण भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले जानकारी दिएका छन्।
शौचालय निर्माण गर्नुमात्र ठूलो कुरा नभएकाले यसको व्यवस्थापनमा सबैले ध्यान दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले बताएका छन्। यसैगरी उक्त नगरपालिका–१०मा १० वर्षका लागि जग्गा लिजमा लिएर बजारबाट निस्कने फोहोरालाई व्यवस्थापन गर्ने ठाउँ निर्माण गरेर छिट्टै सञ्चालनमा ल्याउने नगरपालिकाले जानकारी दिएको छ।