काठमाडौं। दक्षिण कोरियाले नेपालको भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न तयार रहेको बताएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग दक्षिण कोरियाको एक टोलीले भेट गरी भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न प्रस्ताव मागेको हो।
केही महिनापछि नेपाल र दक्षिण कोरिया दौत्य सम्बन्धको ५० वर्ष पुरा हुँदैछ । दौत्य सम्बन्ध पुरा भएको अवसरमा केही ठोस योजनाहरु दिए आफूहरु लगानी गर्न तयार रहेको नेपालका लागि दक्षिण कोरियाका राजदूत थेयङ पार्कले बताए ।
राजदूतसहितको टोलीले सडक वा रेलका क्षेत्रमा लगानी गर्न आफ्नो देश तयार रहेको बताए । भौतिक पूर्वाधारका हिसावले नेपालमा अझै धेरै गर्नुपर्ने भएकोले त्यसका लागि ठोस आयोजनामा छलफल गर्न तयार रहेको राजदूत पार्कले बताए ।
जवाफमा मन्त्री ज्वालाले भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता हुनसके दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने बताए । ‘केही समयमा दुई देशबीचको दौत्य सम्बन्ध ५० बर्ष पुग्दैछ, यहीबेला भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण निर्णय लिनसके दुई देशबीको सम्बन्ध अझै प्रगाढ हुन्छ’ मन्त्री ज्वालाले भने। मन्त्री ज्वालाले नेपालका इन्जिनियरहरुलाई तालिम दिएकोमा दक्षिण कोरिया सरकारलाई धन्यवाद दिए ।