काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा ऊर्जा, पूर्वाधार, पर्यटनलगायतका धेरै क्षेत्रमा लगानीको प्रसस्त सम्भावना रहेको बताएका छन्।
महासंघ र हङकङ ट्रेड डेभलपमेन्ट काउन्सिललद्धारा संयुक्त रुपमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका धेरै सम्भावना रहेको बताएका हुन्।
उनले नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरुलाई आग्रह समेत गरेका छन्।
उनले भने, ‘नेपालमा ऊर्जा, पूर्वाधार, निर्माण क्षेत्र, पर्यटनलगायतका धेरै क्षेत्रमा लगानीका सम्भावना छन्, यहाँ लगानी गरेर विदेशी लगानीकर्ताहरुले लाभ पनि लिइरहेका छन्।’
ढकालले नेपालमा लगानी सम्भावनासँगै लगानीको वातावरण पनि रहेको बताए।
नेपाल दुई ठूला र समृद्ध राष्ट्रको बीचमा रहेकाले लगानी र बजारको पनि त्यति नै अवसर रहेको उनले बताए। अध्यक्ष ढकालले लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेकाले ती विमानस्थलमा चीन र हङकङबाट पर्यटकहरुको आगमनमा पनि उल्लेख्य मात्रामा बृद्धि हुने अपेक्षा गरिएको बताएका छन्।