काठमाडौं। पोखरामा फिर्केखोला अतिक्रमण गरेर एक सय ४७ वटा घर निर्माण गरेको पाइएको छ । महानगरका सर्वेक्षक वासुदेव पौडेलको नेतृत्वमा रहेको टोलीले ०३२ को नक्साअनुसार खोलाको नक्सांकन गर्दा एक सय २२ वटा व्यक्तिगत घर र २५ वटा सार्वजनिक भवन निर्माण गरेको पाइएको हो । व्यक्तिगत घरमध्ये ३५ वटा पक्की र ८७ वटा कच्ची रहेका छन् । पौडेलका अनुसार खोलाको मापदण्ड तय भएको छैन, तर नक्साका आधारमा चार मिटरदेखि ४० मिटरसम्मको क्षेत्रलाई खोला मानेर छुट्याइएको हो । फेवातालमा मिसिने नौ किलोमिटर लामो फिर्केखोला संरक्षणका लागि सीमांकन र रेखांकन गरिएको हो ।
यसअघि फागुन ०७५ मा महानगरले इन्जिनियर महेन्द्र गोदारको नेतृत्वमा एक टोली गठन गरी खोलाको सीमांकन गरेको थियो । त्यतिखेर घरसँगै खोला किनारबाट दायाँ–बायाँ पाँच–पाँच मिटर मापदण्ड कायम गरिएको थियो । पाँच–पाँच मिटर मापदण्ड कायम गर्दा एक सय ९२ स्थानमा खोला मिचेर संरचना निर्माण गरिएको फेला परेको थियो ।
०७५ मा भएको सीमांकनलाई बेवास्ता गर्दै महानगरले फेरि मापदण्ड यकिन नगरी खोलाघर छुट्याउने काम मात्र गरेको हो । पोखरा महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाले खोलाघर छुट्याउने काम भइसकेको र अब मापदण्ड कायम गरिने बताए । ‘खोलाघर क्लियर गरेपछि अब मापदण्ड दायाँ–बायाँ पाँच–पाँच मिटर कायम गर्ने वा अन्य विकल्पबारे छलफल भइरहेको छ,’ उनले भने । नयाँ पत्रिकाबाट