काठमाडौं। अर्थमन्त्री डा.प्रकाशसरण महतले पूर्वाधार निर्माणका लागि आर्थिक कुटनीति बलियो बनाउनेतर्फ सरकार अग्रसर भएको बताएका छन्। वकालत र परामर्शभन्दा पनि पूर्वाधार सहायतालाई सरकारले प्राथमिकता दिने बताउँदै अर्थतन्त्रमा पूर्वाधारको महत्व उच्च हुने बताए ।
उनले भने, ‘सरकारले परामर्श सेवा र वकालतका लागि भन्दा पनि पूर्वाधार निर्माणलाई उच्च महत्व दिएर वैदेशिक सहायता ल्याउने कार्य अघि बढाएको छ। सहायता दिने देशको चासोमा भन्दा लिने देशको आवश्यकतामा आधारित हुनुपर्छ ।’
मन्त्री महतले आर्थिक रुपमा देशलाई समृद्ध बनाउनका लागि सूचना प्रविधि र पर्यटन विकास र यसको पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालले छिमेकी देशहरुबाट र विश्वबाट आर्थिक सहायता लिएर समृद्ध मुलुक बनाउन अघि बढ्नुपर्ने बताए ।