बनेपा। नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआइसी) को भवन निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ। विभिन्न परियोजनाको खोज तथा अनुसन्धान गर्ने स्थानका रुपमा विकास गर्ने उद्देश्यले काठमाडौं विश्वविद्यालय परिसरमा निर्माण भइरहेको इनोभेसन सेन्टरको निर्माण कार्यले तीव्रता पाएको हो।
दक्षिण कोरियाली संस्था कोरिया अन्तराष्ट्रिय सहयोग एजेन्सी(कोइका) को आर्थिक सहयोगमा भवन निर्माण भइरहेको हो। नेपालका ग्रामीण भेगका विपन्न नागरिकको आर्थिक उपार्जन र जीवनस्तर सुधारका लागि कुनै पनि व्यक्ति तथा संस्थाले केयू परिसरमा निर्माण हुने भवनमा आएर खोज तथा अनुसन्धान गर्न सक्ने विश्वविद्यालयको एकीकृत ग्रामीण विकास परियोजनाअन्तर्गतको एनटीआइसीका परियोजना संयोजक डा.विनय केसीले जानकारी दिए।
उनले खोज तथा अनुसन्धान गर्ने व्यक्तिका लागि प्राविधिक सहयोग आवश्यक परेको खण्डमा विश्वविद्यालयमा रहेका प्राध्यापक तथा विद्यार्थीले उपलब्ध गराउने बताए।
सन् २०२० को १४ सेप्टेम्बरबाट शुरु गरिएको भवन निर्माणको काम १३ नोभेम्भर २०२२ भित्र सक्ने गरी लुम्बिनी विल्डर्स कम्पनी प्रालिले ठेक्का पाएको थियो । करिब ४५ करोडको लगानीमा भवन निर्माण सम्पन्न हुनेछ ।