काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र केही समस्यामा रहेको बताएका छन्। शुक्रबार बुटवल जेसिस स्वर्ण जयन्ती समारोह समुद्घाटन एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा। महतले अर्थतन्त्र केही समस्यामा रहेको तर निराश हुनुपर्ने कारण भने नभएको बताएका हुन्।
उनले भने, धेरै निराश हुनुपर्ने कारण छैन । व्यवसायी मर्कामा छन्, उनीहरूको आत्मविश्वासमा कमी आएको छ । नकारात्मक कुरा गरिराख्यो भने हाम्रो आत्मविश्वास घटेर जान्छ । सबैले खराबै मात्र भन्ने हो भने केही गरौँ भन्ने भावनाबाट प्रेरित भएर उद्योग व्यवसाय गर्छु भन्ने व्यक्ति समेत चुप लागेर बस्छन् । जेसिसका साथीहरूले सकारात्मक छलफलको अगुवा गर्नुपर्छ।’
अर्थतन्त्रको सङ्केतलाई राम्रोसँग केलाएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै उनले अहिले अर्थतन्त्र सुधारका सङ्केत देखिनु आफैमा सकारात्मक भएको दाबी गरे।
अर्थतन्त्रमा देखिएको निराशाको सङ्केत अस्थायी भएको भन्दै उनले यो धेरै समय नरहने बताए। अहिले पुँजीको परिचालन भइरहेको भन्दै मौद्रिक नीतिमा कडाइ गर्दा ब्याज दर बढेको भन्दै यो दिगो नभएको बताए।