गौर। गौर नगरपालिका–७ स्थित सरस्वती माध्यमिक विद्यालयको सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएको छ। विद्यालयको चार कोठे नवनिर्मित भवन निर्माण सम्पन्न भएको हो।
उक्त भवनको गौर नगरपालिकाका प्रमुख शम्भु साह उद्घाटन गरेका छन्। सभ्य समाजको मुलभूत आधार शिक्षा नै रहेकाले यसको विकासका लागि आफू प्रतिबद्ध रहेको उनले बताए।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सिसवास्थित माध्यमिक विद्यालयको चार कोठे भवन निर्माण सम्पन्न भएको गौर नगरपालिकाले जनाएको छ। गत २०७९ माघ १२ गते नगर प्रमुख साहद्वारा शिलान्यास गरिएको तथा सात महिनाभित्र निर्माण कार्य सम्पन्न भई उद्घाटन भएको बताइएको छ। सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएपछि स्थानीय पनि खुशि भएका छन्।